राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ जेष्ठ १६, काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगर पुर्याएर बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार गरिएको छ ।
भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले शुक्रबार कुशीनगरमै पुगेर उद्धार गरेको हो ।
प्रहरीका अनुसार नेपालका विभिन्न जिल्लाका युवायुवतीहरूलाई आकर्षक जागिर र राम्रो कमाई हुने प्रलोभन देखाएर नेपालीहरूकै एक गिरोहले भारत पुर्याएर बन्धक बनाएको सूचनाको आधारमा प्रहरीले भारतीय प्रहरीको समन्वयमा गोप्य अपरेसन सुरु गरेको थियो ।
कुशीनगरमा बन्धक बनाएर फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।उद्धार अपरेसनलाई भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रत्यक्ष सहयोग गरेका प्रहरीले जनाएको छ ।
प्रहरीले बन्धक बनाउने र पीडित सबैलाई ८ वटा भारतीय बसमार्फत नेपाल ल्याएको छ। सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको र बन्धक बनाउने गिरोह पत्ता लगाएर पीडितहरूलाई आफन्तको जिम्मा लगाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।