राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ असार १३, प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु भएको हो ।
उपप्रमुख राना आफैंले जिप चलाइरहेका बेला सवारी साधन सडकबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनुगमनका लागि निस्किएका बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
उक्त गाडी सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।