आईतवार, १८ आश्विन, २०८३

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते

२०८३ असोज १७ नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान पौने ४ बजे सडकबाट नालीमा खसेको प्रहरीले जनाएको छ । बसमा चालकसहित १८ जना सवार थिए ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । अन्य पाँच जनाको परिचय खुल्न बाँकी रहेको छ ।

घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लाल बहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन् ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।

advertisement_1676998982.gif