सोमबार, २५ श्रावण, २०८३

पाल्पाको तिनाउमा पिकअप जिप दुर्घटना: चालकसहित १० जना घाइते, एकजना गम्भीर

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

पाल्पाको तिनाउमा पिकअप जिप दुर्घटना: चालकसहित १० जना घाइते, एकजना गम्भीर

२०८३ साउन २५, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरी डाँडास्थित भित्री कच्ची सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

​झुम्सा–सत्यवती–धसमिघा सडक खण्डमा माझगढी गाउँपालिका–५ बंसीङ डाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान करिब ७:०० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

सडकबाट करिब ११० मिटर तल खसेको जिप ​दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगी घाइतेहरूको उद्धार गरेको थियो । दुर्घटनामा जिपका चालक देव कुमार घर्तीसहित अन्य १० जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र ९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही पठाइएको छ । हालसम्म घाइतेहरूको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

advertisement_1676998982.gif