राष्ट्रिय सन्देश संबाददाता, १९ घण्टा पहिले
२०८३ भदौ २० पाल्पा । पाल्पाको तानसेनमा शनिबार नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा २ सय ७ औं भगवती जात्रा निकालिएको छ । पाल्पामा आज वीरताको प्रतीकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
भोटेकोशी बाढीले जनधनको ठूलो क्षति पुर्याएको हुँदा यतिबेला मुलुक नै शोकमा रहेकोले सामान्य औपचारिकताका लागि यसपालि तामझाम नगरी जात्रा निकालिएको अध्यक्ष अशोक महर्जनले बताए ।
पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपाली सेनाले वि. सं १८७१ पौष देखी १८७२ जेठ सम्म पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो । कर्णेल थापाको नेतृत्वमा भएको युद्धमा नेपालले विजय प्राप्त गरेको थियो । प्रशासक कर्णेल थापाले बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरी युद्धमा गएका थिए ।

दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भए संगै कर्णेल उजिर थापाले वि.स. १८७२ देखी ७६ सम्म गजुर सहितको तीन तले मन्दिर निर्माण पुरा गरेपछी वि.स. १८७७ देखि तानसेनमा विजयउत्सव मनाउन थालिएको हो । जितगढी युद्धमा विजय हासिल गरेपछि उनले भाकल पूरा गर्दै मन्दिर निर्माण गराएको इतिहास रहेको छ । त्यसैको सम्झनामा मन्दिरको उत्तरपूर्वतर्फ कर्णेली पूजा दिने प्रचलन अहिले पनि छ ।
भगवती जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर लगायत नेपाली सेनाका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । विजयउत्सवमा हजारौं श्रद्धालुको सहभागिता रहँदै आएको छ । सरकारका उच्च पदस्थ व्यक्तित्व, नेपाली सेना, जिल्लाका सरकारी कार्यालय, संघसंस्था, टोल विकास समूहहरू सबै खटयात्रासँगै तानसेन बजार परिक्रमा गर्ने प्रचलन रही आएको थियो । तर यसवर्ष भने भोटेकोशी बाढीका कारण मुलुक शोकमा रहेकाले विद्यार्थी, टोल विकास संस्था साथै अन्य संघसंस्थालाई र्यालीमा सहभागी गराइएन ।

भोटेकोशी बाढीले जनधनको ठूलो क्षति पु¥याएको हुँदा यतिबेला मुलुक नै शोकमा रहेकोले सामान्य औपचारिकताका लागि जात्रा निकालिएको अध्यक्ष अशोक महर्जनले बताउनुभयो । भगवतीको शक्तिले बुटवल क्षेत्र नेपालले गुमाउन परेन भन्ने महशुष गरी तत्कालीन कर्णेल उजिरसिंह थापाले थापाले भगवतीको तीन तले मन्दिर, कलात्मक धातुको मुर्ति निर्माण गराएर भगवतीको खटयात्रा चलाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कर्णेली पूजासँगै मन्दिरबाट निकालिएको खटयात्रा निशान, मुलढोका हुँदै दरबारमा प्रशासन, प्रहरी, सशस्त्र, जिल्ला समन्वय समितिले पूजा दिने प्रचलन छ । त्यसपछि मात्र सर्वसाधारणले पुजा दिन पाउने प्रचलन छ । नेपाली सेनाको ब्यारेकमा पूजा दिएपछि पुनः बजार परिक्रमा गराएर मन्दिर परिसरमा लैजान गरिन्छ ।







