सोमबार, ५ आश्विन, २०८३

पाल्पा दुर्घटना अपडेट : एक महिलाकाे मृत्यु, ५ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

पाल्पा दुर्घटना अपडेट : एक महिलाकाे मृत्यु, ५ जना घाइते

२०८३ असोज ०४ पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । 

दुर्घटनामा घाइते भई उपचारको क्रममा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी सिद्धार्थ राजमार्गअन्तर्गत भालेबासमा आइतबार दिउँसो करिब ३ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राज मगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवती टोलमा बस्दै आएकी २८ वर्षीया मनकुमारी सारू,  उनकी ७ वर्षीया छोरी साहिरस सारू, सोही स्थानकै ५ वर्षीया सायरा खाम्चा घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको ,जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1676551646.gif