आईतवार, १६ कार्तिक, २०८३

डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

डोल्पामा हिमपातमा फसेका छ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार

२०८३ कार्तिक १५ सुर्खेत । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ दानिगडमा भारी हिमपातका कारण अलपत्र परेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिँदै छ ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार केही दिनयता भएको अत्यधिक हिमपातका कारण उनीहरू उक्त क्षेत्रमा फसेका हुन् । प्रशासनले कात्तिक १४ गते उनीहरू फसेको खबर प्राप्त गरेको थियो भने कात्तिक १५ गतेदेखि उनीहरूको हेलिकप्टरमार्फत उद्धारकार्य भइरहेको सूचनामा उल्लेख गरिएको छ ।

उद्धार गरिएका पर्यटकहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा , डिप्लिना बिस्वास  र राजेश डे रहेका छन्। यीमध्ये दुई महिला र चार पुरुष भारतीय नागरिक हुन् ।

प्रसिद्ध शे-फोक्सुण्डो तालको अवलोकनका लागि उनीहरू डोल्पा पुगेका थिए। भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा अचानक भारी हिमपात भएपछि पदमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा उनीहरू त्यहाँ फस्न पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको सकुशल उद्धार भइरहेको पुष्टि गरिएको छ ।

साथै, प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा थप जोखिम सिर्जना हुन सक्ने भएकाले सम्पूर्ण नागरिक तथा पर्यटकहरूलाई सचेत, सतर्क र सुरक्षित रहन प्रशासनले विशेष अनुरोध गरेको छ ।

advertisement_1676553908.gif