राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८३ जेष्ठ ३१, कैलाली । कैलालीमा वनका कर्मचारीले सडक छेउमा राखिएको भन्दै एक महिलाको टेम्पो भीरबाट खसालेर नष्ट गरिएका छन् ।
गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीको टेम्पो वन कर्मचारीले गाईमारेडाँडाबाट फालेका हुन् ।
सडक छेउमा टेम्पोमै व्यापार गर्दै आएकी उनको टेम्पो डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले भीरबाट फालेर नष्ट गरेका हुन् ।
घटनापछि टेम्पोमा क्षति पुगेको र त्यसैसँगै परिवारको आयआर्जनको मुख्य स्रोत समेत बन्द भएको धामीले बताइन् ।
‘सामान झार्नुभयो, गाडी हामी आफै घर लैजान्छौँ भन्यौँ, तर कसैले सुन्नुभएन,’ धामीले गुनासो गर्दै भनिन्, ‘टेम्पो बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ ।’
वन कार्यालयले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ । तर स्थानीयबासीले कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको जीविकोपार्जनको माध्यममाथि क्षति पुर्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
धनादेवीले राज्यका निकायको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् ।
‘यदि मैले गल्ती गरेकी थिएँ भने कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो,’ उनले भनिन्, ‘तर मेरो परिवारको रोजीरोटीको आधार नै किन नष्ट गरियो ?’
डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवछ यादवले पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरिएकाले संरचना हटाउने काम गरिएको बताए ।
‘त्यो चलाउनेभन्दा पनि व्यापार गर्न प्रयोग गरिने अटो थियो, पटक–पटक हामीले हटाउन भनेका थियौँ, तर मान्नुभएन,’ उनले भने ।
वन अतिक्रमण नियन्त्रण गर्ने सरकारी कदम सकारात्मक भए पनि त्यसलाई कार्यान्वयन गर्ने क्रममा अपनाइएको शैली र मानवीय संवेदनशीलताको अभावलाई लिएर स्थानीय स्तरमा व्यापक आलोचना भइरहेको छ । कानुन कार्यान्वयन गर्दा राज्यले नागरिकको सम्पत्ति र उनीहरूको जीविकोपार्जनको स्रोतमाथि यस्तो निर्मम व्यवहार देखाउनु उचित नभएको भन्दै मानव अधिकारकर्मी र स्थानीयहरूले प्रश्न उठाएका छन् ।
डिभिजन वन कार्यालयले भने आफ्नो अभियान कानुनसम्मत भएको जनाएको छ । कार्यालयका अनुसार, अभियानका क्रममा हालसम्म ४७ वटा साना–ठूला भौतिक संरचनाहरू हटाइएका छन् । वन क्षेत्र संरक्षण र अतिक्रमण नियन्त्रणका लागि पटक-पटक दिइएको चेतावनीको बेवास्ता गरेपछि बाध्य भएर संरचना भत्काउनुपरेको अधिकारीहरूको दाबी छ ।