आईतवार, १७ श्रावण, २०८३

अविरल वर्षा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

अविरल वर्षा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

२०८३ साउन १६, काठमाडौँ । अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्ग तथा मुख्य सडकखण्डहरूमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ५:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केही मुख्य राजमार्गहरूमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

बाढी र पहिरोको उच्च जोखिमका कारण काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गतको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

यसैगरी, ललितपुर र मकवानपुर जोड्ने कान्तिलोकपथमा पनि सुरक्षाका कारण बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्मका लागि सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ ।

देशका अन्य हिमाली तथा पहाडी जिल्लाहरूमा पनि सडक अवरुद्ध हुने क्रम बढेको छ । इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा भीषण वर्षाका कारण बाटो हिलाम्मे भएपछि सवारी आवागमन ठप्प भएको छ । उता सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा ठूलो पहिरो खसेकाले उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

त्यस्तै, नदी कटानका कारण पनि मुख्य सडकहरूमा क्षति पुगेको छ । दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात ठप्प भएको छ भने रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले सडक कटान गर्दा उक्त बाटो पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले लामो दूरीको यात्रा गर्नुअघि सम्बन्धित निकाय वा प्रहरीसँग सडकको ताजा अवस्थाबारे जानकारी लिन र पूर्ण सतर्कता अपनाउन नेपाल प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

advertisement_1676998982.gif