राष्ट्रिय सन्देश संबाददाता, २१ घण्टा पहिले
२०८३ साउन ०३, काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ ।
‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो । सो मलमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो । बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको जनाइएको छ ।
उक्त मलको अनलोडिङ तथा प्याकेजिङ कार्य भइरहेको र त्यसपछि वीरगन्जका लागि ढुवानी प्रक्रिया अघि बढाइने कृषि सामग्री कम्पनीबाट जानकारी प्राप्त भएको छ ।
कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको उपलब्धता सुनिश्चित गर्न आयात भएका खेपलाई चरणबद्ध रूपमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।
प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि वन तथा पर्यावरण मन्त्रीको सचिवालयले जनाएको छ ।