राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ असार २८, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर गृहमन्त्री गुरुङले नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका हुन् ।
गृहमन्त्री स्वयं उपस्थित भई नागरिकता हस्तान्तरण गरेको यस घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । नागरिकता प्राप्त गरेसँगै अब पीडित परिवारलाई अन्य कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच भएको ९ बुँदे सहमति अनुसार नै परिवारलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउने कार्य अघि बढाइएको हो ।
आफ्नो मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि नेपालीले बिहीबार आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उपचारको क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।