सोमबार, ११ श्रावण, २०८३

माइतीघर डुबानको छानबिन प्रतिवेदन सार्वजनिक : यस्तो छ जलमग्न हुनुको पाँच कारण

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

माइतीघर डुबानको छानबिन प्रतिवेदन सार्वजनिक : यस्तो छ जलमग्न हुनुको पाँच कारण

२०८३ साउन १०, काठमाडौँ। माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ ।

झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।

कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो। टोलीको सदस्यहरुमा टोलीले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य थिए ।

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ। माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ। यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ। यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा. पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ ।

भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास र व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ। विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे। जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो । तर, अहिले ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो। यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ। यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।

अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ। अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ। ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ ।

प्रतिवेदनले औंल्याएका डुबानका प्रमुख कारणहरू

१. ढल प्रणालीमा इन्जिनियरिङ त्रुटिः माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भाग ९० सेन्टिमिटरको भए पनि तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी ‘बोटलनेकिङ’ हुँदा पानीको चाप बढेर सडकमा बाहिरिने गरेको छ ।

२. टुकुचा खोलाको ब्याक फ्लोः टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्किने समस्या रहेको छ।

३. प्राकृतिक जलाधारको विनाशः माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूमा ठूला भवनहरू (जस्तैः जिल्ला प्रहरी परिसर र सरकारी वकिलको कार्यालय) निर्माण भई जमिन कंक्रिटले ढाकिएका कारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ।

४. अतिक्रमण र फोहर थुप्रिने समस्याः ढलमाथि नै व्यक्तिगत तथा सरकारी संरचनाहरू निर्माण भएकाले नियमित सरसफाइमा अवरोध पुगेको छ भने पाइपभित्र प्लास्टिक, बोतल र ढुङ्गा–गिट्टी थुप्रिँदा पानीको बहाव रोकिएको छ।

५. समन्वयको अभावः सडक, खानेपानी, ढल र विद्युत्जस्ता निकायहरूबीच समन्वय नहुँदा एउटाले बनाउने र अर्कोले खन्ने परिपाटी रहेको छ।

advertisement_1676553908.gif