सोमबार, १ भाद्र, २०८३

म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द, वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया ठप्प

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द, वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया ठप्प

२०८३ भदौ  ०१, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ ।

संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत आजदेखि ठप्प पारेको जनाएको छ । संघका अनुसार सरकारलाई आफ्ना माग सम्बोधन गर्न पटक–पटक आग्रह गरे पनि त्यसप्रति आवश्यक चासो नदेखाइएपछि आन्दोलनलाई थप कडा बनाउँदै पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरिएको हो ।

यसअघि संघले आन्दोलनका विभिन्न चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले अब सम्पूर्ण सेवा नै बन्द गर्ने निर्णय गरेको हो ।

संघको निर्णयसँगै देशभर सञ्चालनमा रहेका म्यानपावर कम्पनीबाट हुने नयाँ मागपत्र प्रक्रिया, श्रमिक छनोट, कागजात प्रक्रिया तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अन्य काम प्रभावित हुने भएका छन् ।

संघले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने संकेत गरेको छ । म्यानपावर व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ श्रमिकसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

advertisement_1680627680.gif