राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ बैशाख ०८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ४ गतेसम्म राति ७ घण्टा बन्द हुने भएको छ ।
विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखाका अनुसार विमानस्थल सुधार आयोजनाबाट धावनमार्ग नजिकै ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्य हुने भएकाले राति पौने १२ देखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय भएको छ ।
विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।
निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ ।
