राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ असोज २३ काठमाडौँ । वडादशैंमा घर फर्किने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ सुरू गरेको छ । अग्रिम टिकट लिने आशामा सर्वसाधारणहरू बिहीबार रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन् ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी तथा यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरूबीच असोज २० गते भएको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने निर्णय गरेको थियो ।
विशेष गरी सुदूरपश्चिम, कर्णाली तथा मध्यपश्चिमका दूरदराजका जिल्ला जाने यात्रुहरू बिहीबार राति ९ बजेदेखि नै काउन्टर अगाडि लाइनमा बसेका छन् ।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार यात्रुको चापलाई ध्यानमा राख्दै काउन्टर स्थलमा थप १५ वटा काउन्टर स्थापना गरिएको छ । टिकट काउन्टर आसपासमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने भीडभाड नियन्त्रण तथा सम्भावित ठगी रोक्न सादा पोसाकका प्रहरी टोलीसमेत परिचालन गरिएको छ ।
यस पटक उपत्यकाबाट करिब १५ देखि २० लाख यात्रुहरू आफ्नो जन्मथलो फर्किने अनुमान गरिएको छ । यात्रुहरूले काउन्टरको सास्ती र भीडभाडबाट बच्न सम्भव भएसम्म अनलाइन टिकटिङ प्रणालीको प्रयोग गर्नु उपयुक्त हुनेछ ।
भाडामा हुने ठगीबाट बच्न यातायात व्यवस्था विभागले तोकेको आधिकारिक भाडादर सूची हेरेर मात्र भुक्तानी गर्नुपर्नेछ भने काउन्टरका कर्मचारीको परिचयपत्र र आधिकारिक छाप भएको टिकट अनिवार्य लिनुपर्नेछ ।
यात्रुको सुविधाका लागि नयाँ बसपार्क, कलंकी, कोटेश्वर र जडीबुटीलगायतका प्रमुख नाकाहरूमा नेपाल प्रहरी र यातायात व्यवस्था विभागले ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका छन् । टिकट नपाएमा, बढी भाडा मागेमा वा अन्य कुनै समस्या परेमा यात्रुहरूले तत्काल ती सहायता कक्ष वा प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।