आईतवार, २ कार्तिक, २०८३

आइसिसी विश्वकप लिग-२: नेपाल र क्यानडाबिच प्रतिस्‍पर्धा हॅुुदै

राष्ट्रिय सन्‍देश संबाददाता, २१ घण्टा पहिले

आइसिसी विश्वकप लिग-२: नेपाल र क्यानडाबिच प्रतिस्‍पर्धा हॅुुदै

२०८३ कार्तिक ०१ काठमाडौँ । ओमानमा जारी आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

नेपाल र क्यानडा दुवैका लागि अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउन आजको खेल अत्यन्तै महत्त्वपूर्ण छ । यस शृङ्खलामा सुरुआती दुवै खेल जितेर उच्च मनोबलमा रहेको नेपाल आज लगातार तेस्रो जित निकाल्दै एक खेल बाँकी छँदै शीर्ष ६ मा स्थान सुरक्षित गर्ने दाउमा छ । यता क्यानडालाई भने शीर्ष ६ को सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।

अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अंकले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई खेल बराबरी खेल्दै २८ अंक जोडेको छ । सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट ११ जित, १९ हार र पाँच खेलमा अंक बाँड्दै २७ अंक रहेको छ ।

जारी शृङ्खलामा नेपालले पहिलो खेलमा क्यानडालाई २४ रन र दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । क्यानडाले भने पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराउँदै उत्कृष्ट पुनरागमन गरेको छ। नेपालले यस शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धी योगफल बनाएकाले आजको खेलमा पनि टस र सुरुआती ब्याटिङले महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

नेपाल र क्यानडाबीच हालसम्म भएका ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले चार र क्यानडाले दुई खेल जितेका छन् ।

advertisement_1676998982.gif