शुक्रबार, ३० आश्विन, २०८३

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रिय सन्‍देश संबाददाता, ६० मिनेट पहिले

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

२०८३ असोज ३० काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रलाई व्यवस्थित र प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा शुक्रबार ती अध्यादेशहरू जारी गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेले जानकारी दिए ।

जारी गरिएका अध्यादेशहरूमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ रहेका छन् ।

मुलुकभित्र वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका कार्यलाई एकीकृत तथा प्रभावकारी रूपमा अघि बढाउन सरकारले अध्यादेशमार्फत नयाँ कानुनी व्यवस्था ल्याएको हो ।

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, सरकारले पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गतका निकायहरूमा विज्ञ पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढाएको थियो । यसै क्रममा अनुसन्धान र प्रज्ञा-प्रतिष्ठानहरूलाई स्वायत्त र आधुनिक ढाँचामा सञ्चालन गर्न यो कानुनी आधार तयार पारिएको हो ।

उच्च शिक्षा र अनुसन्धानलाई नवप्रवर्तन, बौद्धिक सम्पत्ति र प्रविधिसँग जोड्ने नीतिअनुरूप ल्याइएको यस नयाँ अध्यादेशले वैज्ञानिक जनशक्तिको विकास र अनुसन्धान संस्थाको संस्थागत सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास लिइएको छ । संसद्को अधिवेशन नरहेको अवस्थामा अत्यावश्यक कानुनी प्रबन्धका लागि अध्यादेश जारी गरिएको र यो राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै तत्कालै लागू भएको छ ।

advertisement_1680627706.gif