शुक्रबार, ३० आश्विन, २०८३

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

घटस्थापनापछि उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

२०८३ असोज ३० काठमाडौँ । नेपालीको महान् पर्व बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दशैं मनाउनका लागि घटस्थापनादेखि आज बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।

उनका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।

काठमाडौंबाट दशैं मनाउनका लागि फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।

दशैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए ।

“दशैंको समयमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ”, उनले भने ।

यही असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौंदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो ।

यस्तै, हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दशैंका लागि अग्रिम टिकट बुकिङ लिएका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रीम टिकट बुकिङ गरेका छन् ।

महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

दशैंले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ ।

advertisement_1680627680.gif