राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ असोज ३० काठमाडौँ । काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको यात्रुवाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो बीपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि बस दुर्घटनामा परेको हो । बाप्र ०३–००१ ख २७७४ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार यात्रुहरूले होटलमा खाना खाएपछि बस अगाडि बढाउने क्रममा पछाडि सार्दा दुर्घटना भएको हो । बसको पछाडिको चक्का नालामा परेपछि अनियन्त्रित भएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका नौ जनालाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल, खुर्कोट पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा उद्धार कार्य जारी रहेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।