राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ मंसिर, २०८२
२०८२ मंसिर ८, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार दुई खेल हुँदैछन् ।
बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुदैछ । दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुवै खेल बिहान र साँझ त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन् ।
दुई दुई खेल खेल्दा अहिलेसम्म सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । तीन खेल खेलिसकेको काठमाण्डु दुई अंक जोड्दै तेस्रो स्थानमा छ ।
प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन् । जनकपुरले एक खेल मात्र खेलेको छ भने पोखराले दुई प्रतिस्पर्धामा दुवै गुमाइसकेको छ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।