बुधबार, ११ मंसिर, २०८२

एनपीएल : काठमान्डु गोर्खाजकाे दाेस्राे जित, लुम्बिनी लायन्स २२ रनले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

एनपीएल : काठमान्डु गोर्खाजकाे दाेस्राे जित, लुम्बिनी लायन्स २२ रनले पराजित

२०८२ मंसिर ९, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो ।

काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रन बनायो। लुम्बिनीका लागि शेर मल्लले २७ रन बनाए । यस्तै दिलीप नाथले २५ तथा डार्सी सर्टले २२ रन बनाए। काठमान्डुका मिलिन्द कुमार र गेरहार्ड इरास्मले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । काठमान्डुका कप्तान करण केसीले विस्फोटक ब्याटिङ गरे । उनले ११ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ३४ रन बनाए ।

यस्तै आकाश त्रिपाठीले ३२ तथा सन्तोष यादवले २६ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पलम्यान, शेर मल्ल, गुल्बादिन नैब र रोहित पौडेलले दुई दुई विकेट लिए ।

advertisement_1676551537.gif