राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २९ कार्तिक, २०८३
२०८३ कार्तिक २८ काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई जितका लागि १६७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रनको योगफल तयार पारेको हो।
विराटनगरको इनिङ्स उकास्ने क्रममा चरिथ असलंकाले शानदार अर्धशतकीय पारी खेले। उनले ४३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ६४ रनको योगदान दिए। त्यस्तै, शुभम रन्जाने ३१ रनमा अविजित रहे भने रिटायर्ड हर्ट भएर मैदान बाहिरिनुअघि इमरान शेखले २४ रन तथा लोकेश बमले १५ रन जोडे। बलिङतर्फ लुम्बिनीका किशोर महतोले सर्वाधिक २ विकेट लिए भने अभिषेक गौतम र रुवेन ट्रम्पलमानले समान १–१ विकेट हात पारे।
यस प्रतियोगिताको प्लेअफ दौडमा जीवित रहन विराटनगरलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ। अर्कोतर्फ, लुम्बिनी लायन्सले भने यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।