आईतवार, १६ कार्तिक, २०८३

एनपीएलमा आज जनकपुर र पोखराबीच प्रतिस्‍पर्धा हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

एनपीएलमा आज जनकपुर र पोखराबीच प्रतिस्‍पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्‍पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट माैदनमा अपराह्न ४:३० बजे खेल सुरु हुनेछ ।

आजको खेलमा जनकपुर बोल्ट्स दोस्रो जितको खोजीमा मैदान उत्रनेछ भने पोखरा एभेन्जर्स प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गराउने रणनीतिमा देखिएका छन् । जनकपुरको टोली सम्हालेका कप्तान हर्मित सिंह र पोखराका कप्तान कुशल भुर्तेलबीचको मैदान रणनीति आजको मुख्य आकर्षण रहनेछ ।

जनकपुर बोल्ट्सले जारी प्रतियोगितामा मिश्रित प्रदर्शन गरेको छ । अघिल्ला दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको जनकपुरले कर्णाली याक्ससँग पराजय व्यहोरे पनि काठमाडौँ गोर्खाजलाई पराजित गर्दै पुनरागमन गरेको थियो । अर्कातर्फ, पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमै सुदूरपश्चिम रोयल्ससँग पराजित भएकाले आजको खेल जित्दै तालिकामा खाता खोल्ने दबाबमा छ ।

हेड-टु-हेड तथ्यांकलाई हेर्दा दुवै टोली बराबरी हैसियतमा देखिन्छन्। एनपीएलका अघिल्ला संस्करणहरूमा भएका भेटमा दुवै टोलीले एक-एक खेल जितेका छन् । सन् २०२५ को संस्करणमा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने सन् २०२४ मा जनकपुरले पोखरामाथि सात विकेटको सहज जित निकालेको थियो ।

त्रिवि क्रिकेट मैदानको पिच र समर्थकहरूको उत्साहजनक उपस्थितिका बिच आज दुवै टोली आफ्ना प्रमुख खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको भरोसामा जित हासिल गर्ने मैदानमा उत्रिनेछन् ।

advertisement_1676553851.gif