राष्ट्रिय सन्देश संबाददाता, २२ घण्टा पहिले
२०८३ भदौ २७ काठमाडौं । मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा जारी एसीसी पुरुष प्रिमियर कप २०२६ को फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सामू जितका लागि ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रनको मजबुत योगफल तयार पारेको हो । नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारि खेल्दै टोलीको इनिङ्सलाई बलियो स्थितिमा पुर्याए ।
उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतमा उत्कृष्ट १०२ रन बनाए । अर्का ओपनर अर्जुन कुमालले पनि ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रनको योगदान दिएर पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरे ।
मध्यक्रममा रोहित पौडेलले ४४ बलमा ४० रन जोड्दै इनिङ्सलाई सम्हालेका थिए । त्यसैगरी तल्लो ब्याटिङ क्रममा गुल्शन झाले आक्रामक ब्याटिङको प्रदर्शन गर्दै मात्र ३८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय पारि खेले ।
अन्तिम समयमा बसिर अहमदले पनि ४ बलमा १५ रन जोड्दै टोलीको योगफल ३०० पार गराउन महत्त्वपूर्ण योगदान दि ए।
युएईका तर्फबाट बलिङ गर्दै इबरार शाह अहमदले सर्वाधिक ४ विकेट लिएका थिए भने खुजैमा बिन तन्वीरले २ विकेट लिए । उपाधि जित्दै एसिया कपमा स्थान बनाउनका लागि अब युएईले ३१४ रनको चुनौती सामना गर्नु पर्नेछ ।