राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १ मंसिर, २०८३
२०८३ कार्तिक ३० काठमाडौँ । कतारमा आयोजना हुने एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ । लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा अनुभवी र युवा खेलाडीको सन्तुलन मिलाएर टोली छनोट गरिएको हो ।
क्यानका सचिव पारस खड्काले जारी गरेको प्रेस विज्ञप्तिअनुसार टोलीमा कप्तान लामिछानेसँगै कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, दीपक डुम्रे, अभिशेष गौतम, इशान पाण्डे र राशिद खान समावेश छन् ।
यही नोभेम्बर १९ तारिखदेखि कतारमा सुरु हुने प्रतियोगिताको समूह चरणमा नेपालले बलियो प्रतिद्वन्द्वीहरूको सामना गर्नेछ ।
खेल तालिकाअनुसार नेपालले पहिलो खेल नोभेम्बर २० मा भारतसँग, दोस्रो खेल नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) सँग र समूह चरणको अन्तिम खेल नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्नेछ ।