शनिबार, २० असार, २०८३

फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलद्वारा क्रोएसिया २-१ ले पराजित

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगलद्वारा क्रोएसिया २-१ ले पराजित

२०८३ असार १९, काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको निकै रोमाञ्चक र तनावपूर्ण खेलमा युरोपेली पावरहाउस पोर्चुगलले क्रोएसियामाथि २-१ गोलको पुनरागमन जित निकाल्दै प्रतियोगिताको नकआउट (अन्तिम १६) चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

क्यानडाको टोरन्टोस्थित प्रतिष्ठित टोरन्टो स्टेडियममा शुक्रबार सम्पन्न खेलमा पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डो र सब्सटिच्युट फरवार्ड गोन्कालो रामोसले गोल ग रे।

खेलको सुरुवाती क्षणदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए । मिडफिल्डमा क्रोएसियाका भेट्रान कप्तान लुका मोड्रिच र पोर्चुगलका ब्रुनो फर्नान्डेसबीच बल नियन्त्रणका लागि कडा प्रतिस्पर्धा देखियो । पहिलो हाफमा पोर्चुगलले गोल गर्ने केही सुन्दर अवसरहरू सिर्जना गरे पनि क्रोएसियाली रक्षापङ्क्ति र गोलकिपर डोमिनिक लिभाकोभिच बाधक बन्दा पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

दोस्रो हाफ सुरु भएसँगै क्रोएसियाले खेलमा दबाब बढाउन थाल्यो । खेलको ५३औं मिनेटमा क्रोएसियाका अनुभवी विङ्गर इभान पेरिसिचले उत्कृष्ट गोल गर्दै टोलीलाई १-० को महत्त्वपूर्ण अग्रता दिलाए। काउन्टर अट्याकमा बनेको उक्त अवसरलाई पेरिसिचले बक्सभित्रबाट सहजै सञ्जालको दिशा दिएका थिए ।

एक गोलले पछि परेको पोर्चुगलले त्यसपछि लगातार आक्रमण बुनेको थियो। खेलको ६८औं मिनेटमा पोर्चुगलका कीर्तिमानी कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो खेलकौशल देखाउँदै डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङका साथ गोल गरी खेललाई १-१ को रोमाञ्चक बराबरीमा ल्याए। यस गोलसँगै रोनाल्डोले आफ्नो विश्वकप गोल सङ्ख्यालाई थप मजबुत बनाएका छन् ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलमा १० मिनेटको इन्जुरी समय थपिएको थियो । इन्जुरी समयको चौथो मिनेट अर्थात् ९४औं मिनेटमा राफेल लियोले विङ्ग्सबाट निकालेको क्रसमा युवा स्टार गोन्कालो रामोसले प्रहार गरेको सानदार डाइभिङ हेडर गोलमा परिणत भएपछि टोरन्टो स्टेडियममा उपस्थित पोर्चुगिज समर्थकहरू खुसीले झुमेका थिए।

रामोसको सोही निर्णायक गोलको मद्दतले पोर्चुगलले २-१ को रोमाञ्चक जित दर्ता गर्दै अन्तिम १६ को टिकट पक्का गर्‍यो । यस पराजयसँगै क्रोएसियाको अघिल्लो चरण प्रवेशको सम्भावना भने निकै कठिन बनेको छ ।

advertisement_1676998982.gif