शुक्रबार, २६ असार, २०८३

फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा

२०८३ असार २६, काठमाडौँ । फ्रान्सले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रोपटक सेमिफाइनलमा स्थान बनाएको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा फ्रान्सले खेलको सुरुवातदेखि नै आक्रामक खेल्यो । पाँचौं मिनेटमा मोरोक्कोका गोलकिपर यासिन बोनुले दायोत उपामेकानोको हेडरलाई बचाउ गरे । त्यसको केही समयपछि बक्सभित्र नुसाइर मज्राउईले कप्तान किलियन एमबाप्पेलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पायो । एमबाप्पेको पेनाल्टीलाई गोलकिपर बोनुले उत्कृष्ट बचाउ गरे र पहिलो हाफसम्म खेल ०–० नै रहेको थियो ।

फ्रान्सले दोस्रो हाफमा पनि दबाब कायम राख्यो । ६० औं मिनेटमा एमबाप्पेले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट कर्लिङ प्रहार गर्दै टोलीलाई १–० को अग्रता दिलाए । यो विश्वकपमा एमबाप्पेको आठौं गोल हो ।

एमबाप्पेको गोलको ६ मिनेटपछि फ्रान्सले दोस्रो गोल गर्‍यो । एमबाप्पेको पासमार्फत ओसमान डेम्बेलेले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।

यस जितसँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । अब सेमिफाइनलमा फ्रान्सले बेल्जियम र स्पेनबीचको क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने सन् २०२२ मा उपविजेता बनेको थियो ।

advertisement_1676551646.gif