राष्ट्रिय सन्देश संबाददाता, २० घण्टा पहिले
२०८३ बैशाख ०८, काठमाडौं ।ओपनर कुशल भुर्तेलको विष्फोटक ब्याटिङ र सन्दीप लामिछानेको कसिलो बलिङको मद्दतले नेपालले यूएईविरुद्धको दोस्रो टी–२० आई खेलमा ८ विकेटको सानदार जित निकालेको छ। यस जितसँगै दुई खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।
सोमबार भएको पहिलो खेलमा ६ विकेटको पराजय भोगेको नेपालले मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा उत्कृष्ट पुनरागमन गर्दै सिरिज जोगाएको हो।१२९ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालको जितका मुख्य नायक कुशल भुर्तेल रहे। उनले ५७ बलमा १२ चौका र २ छक्काको मद्दतले अविजित ८४ रनको उत्कृष्ट इनिङ खेले।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रनको योगदान दिए। यूएईका लागि निलान्स केशवानी र मुहम्मद अर्फानले समान १–१ विकेट लिए पनि नेपाली ब्याट्सम्यानलाई रोक्न सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले ५३ रनको अर्धशतकीय पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।मुहम्मद अर्फान ३२ रन अदीव उस्मानी ३० रन यी तीन बाहेक यूएईका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल रहे। उनले कसिलो बलिङ गर्दै ३ विकेट झारे। यस्तै, युवा बलर हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र साहब आलमको भागमा १–१ विकेट रह्यो।यूएई: १२८/८ (२० ओभर) - अक्षदीप नाथ ५३*, सन्दीप लामिछाने ३ विकेट।नेपाल: १३१/२ (१६.१ ओभर) - कुशल भुर्तेल ८४*, दीपेन्द्र सिंह ऐरी २३*।
नतिजा: नेपाल ८ विकेटले विजयी (सिरिज १–१ को बराबरी)।