राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ८ कार्तिक, २०८३
२०८३ कार्तिक ०७ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित पाकिस्तानी टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल आइपुगेका छन्। क्लबले सम्झौताको घोषणा गरेको २४ घण्टाभित्रै ३० वर्षीय शीर्षक्रमका दायाँ हाते ब्याटर फर्हान टोलीमा आबद्ध हुन काठमाडौँ ओर्लिएका हुन्।
फर्हान कर्णाली याक्समा भित्रिने दोस्रो पाकिस्तानी राष्ट्रिय टोलीका खेलाडी हुन्। यसअघि क्लबले बिहीबार पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई अनुबन्ध गरेको थियो, जो शुक्रबार नै नेपाल आइसकेका छन्।
सन् २०१८ मा अस्ट्रेलियाविरुद्धको खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका अनुभवी ब्याटर फर्हानले राष्ट्रिय टोलीका लागि ५१ खेल खेल्दै २ शतक र १३ अर्धशतकको मद्दतमा कुल १,५५४ रन बनाएका छन्।
फर्हान र तलातसँगै कर्णाली याक्सले एनपीएलका लागि ६ जना विदेशी खेलाडीको कोटा पूरा गरिसकेको छ। टिममा उनीहरूसँगै बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा दक्षिण अफ्रिकाका चर्चित विष्फोटक ब्याटर डेविड मिलर समावेश छन्। फर्हानको आगमनले एनपीएलमा कर्णाली याक्सको ब्याटिङ लाइनअप थप बलियो र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।