सोमबार, २२ असार, २०८३

नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

२०८३ असार २२, काठमाडौँ । स्टार स्ट्राइकर एर्लिङ हालान्डको सनसनीपूर्ण प्रदर्शनको मद्दतले नर्वे जारी फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गर्दै नयाँ इतिहास रच्न सफल भएको छ ।

न्युयोर्कस्थित प्रख्यात मेटलाइफ स्टेडियममा गएराति सम्पन्न निकै रोमाञ्चक र तनावपूर्ण खेलमा पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिललाई २-१ गोल अन्तरले स्तब्ध पार्दै नर्वेले इतिहासमै पहिलो पटक विश्वकपको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यो अप्रत्याशित पराजयसँगै उपाधि दावेदार मानिएको ब्राजिल सन् १९९० को विश्वकपपछि पहिलो पटक प्रतियोगिताको अन्तिम १६ को समीकरणबाटै बाहिरिन पुगेको छ, जसले फुटबल जगतमा ठूलो धक्का दिएको छ ।

नर्वेलाई यो ऐतिहासिक र अविस्मरणीय जित दिलाउन टोलीका भरपर्दा गोलरक्षक ओर्यान निल्यान्डको प्रदर्शन पनि उत्तिकै नायकत्वपूर्ण रह्यो । खेलको पहिलो हाफमा ब्राजिलले गोल गर्ने सुवर्ण अवसर पाएको थियो, तर निल्यान्डले ब्राजिलका मिडफिल्डर ब्रुनो गुइमारेसको पेनाल्टी प्रहारलाई उत्कृष्ट ढङ्गले विफल पार्दै खेलमा ब्राजिललाई अग्रता लिन दिएनन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलको उत्तरार्धमा नर्वेले आफ्नो रणनीति बदल्यो । खेल सकिन जम्मा ११ मिनेट बाँकी छँदा म्यानचेस्टर सिटीका फरवार्ड समेत रहेका एर्लिङ हालान्डले आफ्नो जादुमयी लय देखाउँदै लगातार दुई गोल गरेर नर्वेको जित निश्चित बनाएका थिए । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा ब्राजिलका भेट्रान स्टार नेयमारले पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो टोलीको ऐतिहासिक हार टार्न पर्याप्त हुन सकेन ।

यस खेलमा गरेका दुई गोलसँगै हालान्डले जारी विश्वकप २०२६ मा आफ्नो कुल गोल सङ्ख्या सात पुर्‍याएका छन् । यससँगै उनले गोल्डेन बुटको दौडमा अर्का दिग्गज खेलाडी लियोनेल मेस्सीको समान सात गोलको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

ब्राजिल जस्तो बलियो टोलीलाई पाखा लगाएर उच्च मनोबलमा रहेको नर्वेले अब आगामी जुलाई ११ मा मियामीमा आयोजना हुने क्वार्टरफाइनल खेल खेल्नेछ। सेमिफाइनल प्रवेशका लागि नर्वेले सह-आयोजक मेक्सिको वा बलियो टोली इङ्गल्यान्डमध्ये एक विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

advertisement_1676551537.gif