राष्ट्रिय सन्देश संबाददाता, १६ घण्टा पहिले
२०८३ जेष्ठ २४, काठमाडौं । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई १९.४ ओभरमा मात्र ९४ रनमा अलआउट गरेपछि नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको थियो। उक्त लक्ष्यलाई नेपाली ब्याटरहरूले आक्रामक ब्याटिङको मद्दतले मात्र ९.२ ओभरमा २ विकेट गुमाउँदै सहजै प्राप्त गरे । यस जितसँगै नेपाल अपराजित रहँदै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
नेपालको जितमा ब्याटर लोकेश बमले विस्फोटक इनिङ्स खेले। उनले मात्र २६ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतले अविजित ४४ रन जोडे । त्यस्तै, कप्तान रोहित पौडेलले २० बलमा २१ रन बनाउँदै लोकेशलाई बलियो साथ दिए भने कुशल भुर्तेलले तीव्र गतिमा ८ बलमा २० रनको योगदान दिए ।
ओमानका बलर समीर उथमानले २ विकेट लिए पनि नेपाली टोलीको रन गतिलाई रोक्न सकेनन् । यसअघि बलिङतर्फ करण केसीले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिएर ओमानलाई सस्तैमा समेट्न मुख्य भूमिका खेलेका थिए ।
यो जितसँगै नेपालले आगामी एशियन गेम्सको मुख्य प्रतियोगिताका लागि आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ ।