बुधबार, २४ असार, २०८३

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

२०८३ असार २४, काठमाडौँ । साविक विजेता अर्जेन्टिनापछि स्विट्जरल्यान्ड पनि जारी ‘फिफा विश्वकप-२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दक्षिण अमेरिकी पावरहाउस कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले अन्तिम आठको टिकट काटेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डका खेलाडीहरूले उत्कृष्ट मानसिक सन्तुलन प्रदर्शन गरे ।

स्विट्जरल्यान्डका लागि कप्तान ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले बललाई जालीको दिशा दिँदै सफलता दिलाए । अर्कातर्फ कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र स्टार फरवार्ड लुइस डियाजले गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन र कोलम्बिया अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।

यो जितसँगै इतिहासमा १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले ७२ वर्षपछि पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेर नयाँ इतिहास रचेको छ ।

यसअघि सन् १९५४ मा आफ्नै देशमा आयोजित विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको स्विट्जरल्यान्ड त्यसयताका संस्करणहरूमा कि त समूह चरण कि त अन्तिम १६ को तगारो पार गर्न असफल रहँदै आएको थियो ।

ऐतिहासिक पुनरागमनसहित लयमा देखिएको स्विट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि आगामी आइतबार इजिप्टलाई हराएर क्वाटरफाइनल पुगिसकेको साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ ।

advertisement_1676553908.gif