राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २९ कार्तिक, २०८३
२०८३ कार्तिक २८ काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत २६ औँ लिग खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्ने पक्का गरेको छ। लुम्बिनीको यस जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। जसमा लुम्बिनी लायन्ससँगै सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएर रोमाञ्चक जित निकाल्यो। अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा रुपेश सिंहको पहिलो 'नो बल' मा बाउन्ड्री नजिक बसिर अहमदले क्याच छुटाउँदा लुम्बिनीले ७ रन बटुलेको थियो। त्यसपछिका बलहरूमा रन र विकेटको उतारचढावबीच २ बलमा ५ रन चाहिएको अवस्थामा रुबेन ट्रम्पलमेनले छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे।
लुम्बिनीको जितमा ओपनरद्वय आसिफ शेख र डार्सी सर्टले ८६ रनको उत्कृष्ट साझेदारी गरे। सर्टले ३८ बलमा ३ चौका र १ छक्कासहित ४५ रन बनाए भने आसिफले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। मध्यक्रममा निरोशन डिकवेला र दिलिप नाथ शून्यमै आउट भए पनि अलि शेखले २७ रन जोडे। सन्दीप जोरा २५ र रुबेन ट्रम्पलमेन ६ रनमा अविजित रहे। बलिङतर्फ विराटनगरका अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ असलंकाले १–१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका लागि चरिथ असलंकाले ४३ बलमा १ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले।लोकेश बम १५ रनमा आउट भएपछि इम्रान शेखले २४ रन जोडेर असलंकासँग ३३ रनको साझेदारी गरे, तर १०.२ ओभरमा तिघ्रामा समस्या (क्र्याम्प) आएपछि उनी रिटायर्ड हर्ट भए। त्यसपछि असलंकाले शुभम रन्जानेसँँग ७५ रनको साझेदारी गर्दै इनिङ्स उकासे।
रन्जाने ३१ र बसिर अहमद ६ रनमा अविजित रहे। लुम्बिनीका लागि बलिङतर्फ किशोर महतोले २ तथा अभिषेक गौतम र रुबेन ट्रम्पलमेनले समान १–१ विकेट हात पारे।