राष्ट्रिय सन्देश संबाददाता, १४ घण्टा पहिले
२०८३ जेष्ठ ३०, काठमाडौं । तीन राष्ट्रको संयुक्त आयोजनामा भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘डी’ को उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले सुखद सुरुआत गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।
खेलमा अमेरिकाले सुरुआती अग्रता पाराग्वेको आत्मघाती गोलबाट पाएको थियो । खेलको सातौँ मिनेटमा अमेरिकाका वेस्टन म्याकेनीले गरेको प्रहारलाई रोक्ने प्रयास गर्दा पाराग्वेका खेलाडी डेमियन बोबाडिल्लाले आफ्नै गोलपोष्टमा बल छिराउन पुगेका थिए ।
त्यसपछि आक्रामक बनेको अमेरिकाका लागि खेलको ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अग्रता दोब्बर बनाए । बालोगुनले नै पहिलो हाफको अतिरिक्त समयमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल थपेपछि पहिलो हाफमै अमेरिका ३-० ले अगाडि रह्यो ।
दोस्रो हाफमा पाराग्वेले पुनरागमनको प्रयास गर्दै खेलको ७३औँ मिनेटमा मौरिसियोमार्फत एक सान्त्वना गोल फर्काए पनि त्यो पर्याप्त हुन सकेन ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीको ४-१ को सानदार जित सुनिश्चित गरे । यस जितसँगै महत्वपूर्ण तीन अङ्क जोड्दै अमेरिका समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन् ।