सोमबार, १ असार, २०८३

विश्वकप फुटबल : ब्राजिल र मोरक्को १-१ बराबरीमा रोकिए

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

विश्वकप फुटबल : ब्राजिल र मोरक्को १-१ बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै अफ्रिकन पावरहाउस मोरक्कोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार बिहान भएको समूह ‘सी’ को निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अंक बाँडेका हुन् । छैटौँ पटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको ब्राजिलका लागि यो खेल मिश्रित सुरुवात जस्तै बनेको छ ।

यस बराबरीसँगै ब्राजिलले विश्वकपको पहिलो खेलमा जित निकाल्न नसकेको आठ वर्षपछि यो पहिलो पटक हो । यसअघि सन् २०१८ को विश्वकपमा ब्राजिल आफ्नो पहिलो खेलमा स्विटजरल्यान्डसँग १-१ गोलकै बराबरीमा रोकिएको थियो ।

यद्यपि, मोरक्कोसँगको यो नतिजाले ब्राजिलको एउटा ऐतिहासिक कीर्तिमानलाई भने निरन्तरता दिएको छ। सन् १९३४ को दोस्रो विश्वकपमा स्पेनसँग पराजित भएयता ब्राजिल विश्वकपको आफ्नो पहिलो खेलमा कहिल्यै हारेको छैन ।

मोरक्कोविरुद्धको खेलसँगै ब्राजिलले विश्वकपको पहिलो खेलमा आफ्नो अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याउन सफल भएको छ । यो अवधिमा ब्राजिलले १७ खेलमा जित हात पारेको छ भने ४ खेल बराबरीमा टुङ्ग्याएको छ ।

न्युजर्सीको मैदानमा दुवै टोलीले पहिलो हाफमै गोल गरेका थिए । खेलको सुरुवाती समयदेखि नै दक्षिण अमेरिकी जादुगर ब्राजिललाई दबाबमा राखेको मोरक्कोले २१ औँ मिनेटमा अग्रता लिएको थियो ।

स्टार खेलाडी ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पीएसभी आइन्डोभेनका फरवार्ड इस्माइल साइबारीले चलाखीपूर्ण ‘स्कुप’ सटमार्फत ब्राजिलका गोलकिपर एलिसन बेकरलाई चकित पार्दै टोलीलाई अगाडि बढाएका थिए ।

तर मोरक्कोको त्यो खुसी धेरै समय टिक्न पाएन । खेलको ३२ औँ मिनेटमा ब्रुनो गुइमारेसको उत्कृष्ट पासमा ब्राजिलका स्टार विनेसियस जुनियरले मोरक्कोका डिफेन्डरहरूलाई बिट गर्दै सानदार गोल गरे र खेललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफ रोचक र तीव्र गतिको भए पनि दोस्रो हाफमा खेल केही सुस्त देखिएको थियो । ब्राजिलको इतिहासमै पहिलो विदेशी प्रशिक्षकका रूपमा टोली सम्हालेका इटालियन रणनीतिकार कार्लो अन्सेलोटीका लागि यो पहिलो ठुलो र चुनौतीपूर्ण परीक्षा थियो ।

घाइते भएका कारण टोलीका मुख्य स्ट्राइकर नेयमार बिना नै मैदान उत्रिएको ब्राजिलको खेल हेर्न रङ्गशालामा पूर्व महान् खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काका समेत उपस्थित थिए । दोस्रो हाफमा ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सन् २०२२ को विश्वकप सेमिफाइनलिस्ट मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै ब्राजिलको जितको बाटो छेकिदिए ।

यो बराबरीपछि समूह ‘सी’ मा रहेका ब्राजिल र मोरक्को दुवैले समान १-१ अंक जोडेका छन् । अब ब्राजिलले आफ्नो दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको हाइटीको सामना गर्नेछ भने मोरक्कोले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यसै समूह अन्तर्गत आइतबारको अर्को खेल स्कटल्यान्ड र हाइटीबिच हुँदैछ ।

advertisement_1676551537.gif
अन्य समाचार