आईतवार, १४ असार, २०८३

विश्वकप २०२६: इराकमाथि सेनेगलको ५–० को फराकिलो जित

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

विश्वकप २०२६: इराकमाथि सेनेगलको ५–० को फराकिलो जित

२०८३ असार १3, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५-० गोलको फराकिलो जित दर्ता गरेको छ ।

क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले प्रतियोगिताको नकआउट चरणमा पुग्ने आफ्नो गणितीय सम्भावनालाई कायमै राखेको हो । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेनेगलका लागि पापे गुएले दुई गोल गरे भने हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक-एक गोलको योगदान दिए ।

खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि इराक १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा सेनेगलले भरपूर उठायो ।

सेनेगलले खेलको चौथो मिनेटमै हबिब डियाराको उत्कृष्ट गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १० खेलाडीमा समेटिएको इराकले रक्षात्मक खेल खेल्दै थप गोल हुन नदिएपछि पहिलो हाफ १-० मा सकिएको थियो ।

तर, दोस्रो हाफमा सेनेगल इराकविरुद्ध पूर्ण रूपमा हाबी भयो र थप चार गोल थप्यो । खेलको ५६औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए भने ५९औँ र ७१औँ मिनेटमा पापे गुएले लगातार दुई गोल गर्दै टोलीलाई ४-० को सुदृढ स्थितिमा पुर्‍याए । खेल सकिन केही समय बाँकी छँदा ८२औँ मिनेटमा इलमान न्डियाएले गोल गरेपछि सेनेगलले ५–० को सानदार जित सुनिश्चित गर्‍यो ।

यो जितसँगै समूह ‘आई’ मा तीन खेलबाट तीन अङ्क जोड्दै सेनेगल तेस्रो स्थानमा रहन सफल भएको छ ।

advertisement_1676998982.gif