राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ असार २४, काठमाडौँ । इजिप्टियन फुटबल फेडेरेसनले अर्जेन्टिना विरुद्धको अन्तिम १६ को खेल सञ्चालन गर्ने रेफ्रीहरूलाई विश्वकपबाटै हटाउन फिफासमक्ष माग गरेको छ। फुटबलको सर्वोच्च निकाय फिफामा औपचारिक उजुरी दर्ता गर्दै फेडेरेसनले उक्त खेलका क्रममा रेफ्रीहरूले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ।
फेडेरेसनका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली मुख्य रेफ्री फ्रान्कोइस लेटेक्सियर र उनको टोलीविरुद्ध गम्भीर छानबिनको माग गर्दै उजुरी दिएका हुन्। रेफ्री टोलीको त्रुटिपूर्ण निर्णय र पक्षपाती व्यवहारकै कारण इजिप्टले खेल हार्नुपरेको र विश्वकपबाट बाहिरिनुपरेको फेडेरेसनको दाबी छ।
विवादको मुख्य जड खेलको दोस्रो हाफमा इजिप्ट १-० ले अघि रहेको बेला सिर्जना भएको थियो। सो समयमा इजिप्टका मोस्टाफा जिकोले गरेको दोस्रो गोललाई भिडिओ असिस्टेन्ट रेफ्री (भार) ले रद्द गरिदिएको थियो। गोलको मुभ सुरु हुनुअघि इजिप्टका मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजको खुट्टामा कुल्चिएको भन्दै रेफ्रीले फलको निर्णय दिएका थिए, जुन निर्णय निकै विवादित बनेको छ।
तनावपूर्ण खेलको अन्त्यतिर अर्जेन्टिनाले ३-२ को विजयी गोल गर्नुभन्दा केही सेकेन्डअघि अर्को एउटा महत्त्वपूर्ण घटना घट्यो। अर्जेन्टिनाको पेनाल्टी क्षेत्रभित्र इजिप्टका स्टार खेलाडी मोहम्मद सलाहलाई लडाइँदा पनि रेफ्रीले पेनाल्टी नदिएको भन्दै इजिप्टले बलियो दाबी गरेको थियो। यस्ता निर्णायक मोडहरूमा रेफ्रीले दोहोरो मापदण्ड देखाएर विपक्षीलाई फाइदा पुर्याएको भन्दै इजिप्टियन फेडेरेसनले ती रेफ्रीहरूलाई तत्काल विश्वकपको बाँकी खेलहरू सञ्चालन गर्नबाट रोक्दै कडा कारबाही गर्न फिफा जोडदार माग गरेको छ।