मंगलवार, १२ श्रावण, २०८३

आज साउनको दोस्रो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

आज साउनको दोस्रो सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

२०८३ साउन ११, काठमाडौँ। साउन महिनाको दोस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका प्रमुख शिवालयहरूमा बिहानैदेखि पूजा-आराधना र दर्शन गर्ने श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ । साउने झरीको प्रवाह नगरी बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थीहरूको लर्को देखिएको छ ।

भक्तजनको सुविधालाई ध्यानमा राख्दै बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषकी कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो । पहिलो सोमबारको तुलनामा आज पशुपति क्षेत्रमा दर्शन, सुरक्षा र पूजा व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको कोषले जनाएको छ ।

दर्शन व्यवस्थापनलाई प्रभावकारी बनाउन कोषका कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संघसंस्था परिचालन गरिएका छन् । लाखौँ भक्तजनलाई सहज र सुरक्षित वातावरणमा दर्शन गराउने गरी सम्पूर्ण तयारी गरिएको कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए ।

बिहान ३:०० बजे खुलेका मन्दिरका ढोकाहरू साँझको आरतीपछि राति ८:०० बजेसम्म दर्शनार्थीका लागि खुला रहनेछन्। विशेष पूजाका लागि भने बिहान ८:३० बजेदेखि मध्याह्न १२:०० बजेसम्मको समय तोकिएको छ । दर्शनार्थीका लागि चार वटा छुट्टाछुट्टै लामको प्रबन्ध मिलाइएको छ भने पशुपति क्षेत्रमा प्राथमिक उपचारलगायत अत्यावश्यक सेवाहरूको पनि उचित व्यवस्था गरिएको छ ।

पशुपतिनाथका अतिरिक्त उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र वसन्तपुरस्थित मक्खन महादेव (सानो पशुपतिनाथ) लगायतका मन्दिरहरूमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । त्यसैगरी देशका विभिन्न भागमा रहेका साना-ठूला शिवालयहरूमा पनि महादेवको पूजा-आराधना गर्ने भक्तजनको बिहानैदेखि बाक्लो उपस्थिति रहेको छ ।

advertisement_1676553851.gif