बुधबार, ३ मंसिर, २०८३

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

२०८३ मंसिर ०१ चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्संकल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए । 

“देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ । उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ”, प्रवक्ता प्रपन्नाचार्य भने । उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।

रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ । महायज्ञको पहिलो दिन बिहान ८:०० बजे गौशालामा सामूहिक गौपूजा, ९:०० बजे गण्डकी पूजन र १०:०० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए।

कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ । त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक संकल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ । बिहान ११:३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको उनले बताए ।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताए । “प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो”, उनले भने । उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरे । 

advertisement_1676553908.gif