आईतवार, २३ कार्तिक, २०८३

यमपञ्चकको दोस्रो दिन: आज कुकुर तिहार र लक्ष्मीपूजा गरी मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

यमपञ्चकको दोस्रो दिन: आज कुकुर तिहार र लक्ष्मीपूजा गरी मनाइँदै

२०८३ कार्तिक २२ काठमाडौँ । तिथिको घटबढका कारण यस वर्ष तिहारको तेस्रो दिन कुकुर तिहार तथा नरक चतुर्दशी पर्व परेको छ । आजको दिन घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी तिथि परेको दिन मनाउनुपर्ने शास्त्रीय नियम रहेको छ ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई परिकार खुवाउँदा यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामक कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहेको बताए ।

वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको जनविश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग नलाग्ने जनविश्वाससमेत बढेको छ ।

त्यस्तै, आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा स्नान गरी यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक मान्यता रहेको छ  । यसरी बत्ती बानी बगाउने परम्परालाई नरके बगाउने भनिन्छ । यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलनले शरीर स्वस्थ हुने आयुर्वेदिक मत पनि रहेको छ   ।

advertisement_1676553851.gif