राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ असार ३१, काठमाडौँ । बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले आज (बुधबार) देखि देशभर पूर्ण तौल (भरी सिलिण्डर) को ग्यास बिक्री वितरण सुरु गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो । नेपाल आयल निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ ।
आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो । यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ ।
निगमले भरी सिलिण्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ । अब उपभोक्ताले प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ (रु. २,०६०) मा भरी ग्यास सिलिण्डर खरिद गर्न सक्नेछन् ।