राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ साउन १९, काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाएसँगै आन्तरिक उडानको हवाई भाडा पनि बढेको छ ।
निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य बढाएपछि प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ । सोही मूल्य समायोजन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादरसहितको जानकारी वायुसेवा कम्पनीहरूलाई गराएको छ भने बढेको मूल्य आजैदेखि कार्यान्वयनमा आएको छ ।
प्राधिकरणका अनुसार काठमाडौंबाट धनगढी रुटमा यसअघि १० हजार १२० रुपैयाँ रहेको फ्यूल सरचार्ज बढेर ११ हजार पुगेको छ, जसअनुसार धनगढी जाने टिकटको मूल्य मात्रै ८८० रुपैयाँले बढेको छ । यसपटकको मूल्य वृद्धिको मार सबैभन्दा बढी विराटनगर–धनगढी रुटमा परेको छ, जहाँ १ हजार २९० रुपैयाँ भाडा बढेको छ। त्यसैगरी नेपालगन्ज–भद्रपुर रुटमा १ हजार १७० र जनकपुर–धनगढी रुटमा ११ सय रुपैयाँले मूल्यवृद्धि भएको छ ।
अन्य विभिन्न रुटहरूमा पनि हवाई भाडा बढेको छ। काठमाडौंबाट हुने उडानहरूमा माउन्टेन फ्लाइटमा ६८५, भद्रपुरमा ६०५, विराटनगरमा ४८०, जनकपुरमा २६० र भद्रपुर रुटमा २१५ रुपैयाँले टिकटको मूल्य बढेको छ । यसैगरी, काठमाडौंबाट पोखरा ३१५, भैरहवा ४१०, नेपालगन्ज ६५५, तुम्लिङटार ३७० र सिमराको भाडा १८० रुपैयाँले वृद्धि भएको छ ।
यसैगरी मोफसलका अन्य रुटहरूमा पोखरा–भद्रपुर ८१०, पोखरा–धनगढी ६८५ र पोखरा–जनकपुर रुटमा ५२५ रुपैयाँले मूल्य बढेको देखिएको प्राधिकरणले जनाएको छ ।
हेर्नुहोस् कहाँको कति बढ्यो हवाई भाडा ?