राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ असार १०, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रमले आज बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ओरालो लागेको दुवै बहुमूल्य धातुको भाउ आज थप घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँले गिरावट आई २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ । यसअघि हिजो मंगलबार पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
पछिल्लो समय सुनको मूल्यमा ठुलो उतारचढाव देखिँदै आएको छ, जसअन्तर्गत गत शुक्रबार मात्रै सुनको भाउ एकैदिन तोलामा १० हजार ५ सय रुपैयाँले घटेको थियो ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ । तोलामा १०५ रुपैयाँले घटेर चाँदीको भाउ आज प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ । हिजो मंगलबार पनि चाँदीको मूल्य तोलामा १४० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली सुनचाँदी बजारको इतिहासलाई हेर्दा गएको माघ १५ गते सुनको भाउ एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।
सोही दिन चाँदीको मूल्य पनि इतिहासकै उच्च बिन्दु प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो ।