सोमबार, १५ असार, २०८३

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

२०८३ असार १४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दु आसपास पुगेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ पुगेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुचकांक र डलरको मजबुतीका आधारमा यो नयाँ मूल्य निर्धारण गरेको हो । नेपालमा यसअघि गत जेठ महिनाको मध्यतिर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाउँदै प्रतितोला ३ लाख ११ हजारभन्दा माथिको विन्दु छोइसकेको थियो ।

पछिल्ला केही हप्तायता ओरालो लाग्ने क्रममा रहेको सुनको भाउमा आइतबार पुनः ठूलो सुधार देखिएको हो । महासंघका अनुसार छापावाला सुनसँगै तेजाबी सुनको मूल्यमा पनि सोही अनुपातमा वृद्धि भएको छ । आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँभन्दा माथि कायम गरिएको छ ।

सुनसँगै आइतबार चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ४ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १ सय ४५ रुपैयाँले बढेको छ। यो वृद्धिसँगै नेपाली बजारमा चाँदी आज प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मागमा आएको उतारचढाव र डलरको विनिमय दरमा भएको फेरबदलका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन् ।

advertisement_1676551537.gif