राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८३ असार १५, काठमाडौं । नेपाली सुनचाँदी बजारमा साताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि अघिल्लो दिन आइतबार मात्रै सुनको मूल्यमा एकैपटक तोलामा ४ हजार ७०० रुपैयाँको ठुलो वृद्धि भएर इतिहासकै उच्च विन्दु नजिक अर्थात् प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो । आइतबारको सो ऐतिहासिक वृद्धिपछि सोमबार बजार खुल्दा भने सुनको मूल्यमा केही संकुचन देखिएको हो । सुनसँगै आज बहुमूल्य धातु चाँदीको मूल्यमा पनि सामान्य गिरावट रेकर्ड गरिएको छ ।
सोमबार चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ३१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र सुरक्षित लगानीका रूपमा सुनको मागमा आउने उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरू बताउँछन् ।
महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्य र अमेरिकी डलरको विनिमय दरलाई आधार मानी नेपाली बजारका लागि दैनिक रूपमा आधिकारिक मूल्य निर्धारण गर्दै आएको छ ।