राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८३ जेष्ठ १७, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार महसुल दरमा १० प्रतिशत वृद्धि गरेसँगै नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै ठुलो वृद्धि भएको छ । बजेट भाषण लगत्तै खुलेको बजारमा छापावाल सुनको मूल्य एकैपटक प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि गत जेठ १५ गते बजेट सार्वजनिक हुनुभन्दा अगाडि सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यसै गरी, १० ग्राम सुनको मूल्यमा पनि भारी वृद्धि भई २ लाख ६६ हजार ७२० रुपैयाँ तोकिएको छ, जुन दुई दिनअघि मात्रै २ लाख ४९ हजार १४० रुपैयाँ मात्र थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ, जुन जेठ १५ गते प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ कायम गरिएको छ । सरकारले भन्सार दर बढाएपछि सुनचाँदीको मूल्य आकाशिएकाले बजारमा कारोबार प्रभावित हुनसक्ने व्यवसायीहरूले बताएका छन् ।