राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८३ जेष्ठ १४, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा व्यापक गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैपटक ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ ।
यसअघि हिजो (बुधबार) पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । गत मंगलबार भने सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको थियो। हिजो र आज गरी दुई दिनको अवधिमा मात्रै सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँले घटिसकेको छ ।
सुनसँगै आज चाँदीको भाउमा पनि उच्च गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा झरेको छ । हिजो बुधबार चाँदीको भाउ तोलाको ५ हजार ८० रुपैयाँ रहेको थाहा भएको छ ।
यसअघि नेपाली सुनचाँदी बजारमा ऐतिहासिक रेकर्डहरू बनेका थिए। गत माघ १५ गते एकैदिन तोलामा इतिहासकै सबैभन्दा धेरै २० हजार ५०० रुपैयाँले बढेर सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । सोही दिन माघ १५ गते चाँदीको भाउ पनि अहिलेसम्मकै सबैभन्दा बढी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।
त्यसैगरी, गत माघ १८ गते चाँदीको मूल्यमा तोलामा १ हजार ५६५ रुपैयाँको गिरावट आएको थियो । चाँदीको मूल्यमा आएको उक्त गिरावट नेपाली बजारको इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो ।