बिहीबार, ७ श्रावण, २०८३

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

२०८३ साउन ०६, काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।

मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

नाट्य विद्यामा विद्यावारिधि गर्नुभएका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालि सकेका छन् ।

झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनुभएको छ । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उहाँले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गरेका हुन् ।

शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ ।

विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।

advertisement_1676551694.gif