शुक्रबार, २३ आश्विन, २०८३

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, ४६ मिनेट पहिले

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस

२०८३ असोज २३ काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिले दाहालमाथि विभागीय कारबाही गर्न सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार समितिले बिहीबार बुझाएको प्रतिवेदनमा सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ ।

समितिको प्रतिवेदनमाथि अध्ययन गरी कारबाहीसम्बन्धी अन्तिम निर्णय लिइने मन्त्रालयका ती अधिकारीले जानकारी दिए ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि दाहाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको विषय सार्वजनिक भएको थियो । जबरालाई असोज ११ गते राति काठमाडौँस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो ।

त्यस घटनासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो। 

मन्त्रालयले सोही दिन अतिरिक्त महानिरीक्षक पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । निलम्बनमा पर्नुअघि दाहाल सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

सशस्त्र प्रहरी नियमावलीमा आचरणविपरीत कार्य गर्ने कर्मचारीमाथि विभागीय कारबाही गर्न सकिने व्यवस्था छ । समितिले सोही नियमावलीबमोजिम कारबाही सिफारिस गरेको हो ।

छानबिन समितिको सिफारिससँगै दाहालमाथिको विभागीय कारबाही प्रक्रिया निर्णयको चरणमा पुगेको छ । यद्यपि, मन्त्रालयबाट अन्तिम निर्णय नभएसम्म उनको सेवासम्बन्धी अवस्था निलम्बनकै रहनेछ ।

advertisement_1676553908.gif