मंगलवार, ९ असार, २०८३

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र षड्यन्त्रको पराकाष्ठा : केपी ओली

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र षड्यन्त्रको पराकाष्ठा : केपी ओली

२०८३ असार ०८, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई सरकारको ‘राजनीतिक प्रतिशोध र शृंखलाबद्ध षड्यन्त्र’ को संज्ञा दिएका छन् । उपाध्यक्ष पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेपछि अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै सरकारको यस कदमको कडा शब्दमा निन्दा गरेका छन् ।

अध्यक्ष ओलीले वर्तमान सरकार विपक्षी दलहरूविरुद्ध अराजनीतिक र अलोकतान्त्रिक व्यवहारमा उत्रिएको आरोप लगाएका छन् । ‘यो दमनकारी कदम म र हाम्रो पार्टीमाथि लक्षित शृंखलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको अर्को कडी हो,’ उनले भनेका छन् ।

ओलीले कानुनी प्रक्रियाको सामान्य मापदण्डलाई समेत सरकारले लत्याएको आरोप लगाएका छन् । सोधपुछका लागि अन्य विकल्पहरू हुँदाहुँदै पनि सरकारले सस्तो लोकप्रियता (स्टन्ट) का लागि मात्रै पौडेललाई पक्राउ गरेको उनको जिकिर छ ।

‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सम्मान गर्ने व्यक्तिलाई बोलाएर सोधपुछ गर्न सकिने वा उनकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने स्पष्ट विकल्प थियो । तर, त्यसलाई नियतवश बेवास्ता गरी बदनियतपूर्वक गिरफ्तारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सरकारका यस्ता हर्कत तत्काल बन्द गर्न चेतावनी दिँदै परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।

‘हामी सरकारलाई सचेत गराउन चाहन्छौं- विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण कार्यहरू तत्काल रोकिनुपर्छ । अन्यथा, यसको परिणाम सुखद हुने छैन,’ ओलीले चेतावनीको भाषामा भनेका छन् ।

advertisement_1676551646.gif